News पाल्पाको बगनाशकालीमा तीज स्पेशल कप शुरु
सुरज राना मगर

बगनाशकाली । नव जागृति युवा क्लब, बगनाशकाली गाउँपालिका–१, घोरबन्दा, पाल्पालको आयोजनामा आउँदै गरेको महिलाहरुको महान चाडी हरितालीका (तीज) को अवसर पारी साउन ३० गते शुक्रबारदेखि तीज स्पेशल कप खुला नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।

कोठीचौर खेलमैदानमा भएको उद्घाटन खेलमा दमकडा ब्रदर्श फुटबल क्लबले न्यु हिमाली युथ क्लबलाई ६–० को फराकिलो जितका साथ प्रतियोगितामा विजयी शुरुवात गर्यो । खेलमा प्रतियोगिता कै पहिलो ह्याट्रिक गरेका दमकडाका राज थापा म्यान अफ दि म्याच चुनिए ।

यो जितसँगै दमकडा क्वाटरफाइनलमा समेत प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत साउन ३१ गते शनिबारको खेल न्यु एकता फुटबल क्लब र युनाइटेड युथ क्लबबीच हुने खेल संयोजक हरि सिंह गाहाले जानकारी दिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी बगनाशकाली गाउँपालिकाका उपाध्यक्ष हरि पाठक, आयोजक क्लबका अध्यक्ष जनक गाहा लगायतले संयुक्त रुपमा गरेका थिए । सो अवसरमा अतिथीहरु सु.बि. यश थापा, चन्द्र बहादुर राना, राम बहादुर राना, टेक बहादुर गाहा, पदम राना र देन्जिङ रायमाझी लगायको उपस्थिति रहेको थियो ।

आउँदै भदौ १० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १२ टोलीहरु सहभागि छन् ।

Post Comments