काठमाडौं (एजेन्सी) । विश्व कै उत्कृष्ट मध्ये एक इङलिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबार राती (१५ अगस्त) देखि आधिकारिक रुपमा शुरु भएको छ । उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले उत्कृष्ट शुरुवात समेत गर्यो ।
लिभरपुलको घरेलु मैदानमा एनफिल्डमा भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई ४–२ को फराकिलो अन्तरले हराउँदै विजयी शुरुवात गर्यो ।
खेलको ३७औं मिनटमा ह्युगो इकिटिकेको गोलबाट लिभरपुलले खेलमा अग्रता बनाएको थियो । ४९औं मिनटमा कोडी गाक्पोले त्यो अग्रता दोब्बर पारे । यद्यपि खेलको ६४ र ७६औं मिनटमा बर्नमाउथका एन्टोइन सेमेन्योले लगातार दुई गोल गर्दै खेललाई २–२ को स्थितिमा ल्याए ।
तर पाहुना टोली अन्तिम समय सम्हालिन सकेन । खेलको ८८औं मिनटमा लिभरपुलका लागि फेडरिको चिसाले तेस्रो गोल थपे भने इन्जुरी समयमा मोहमद सलाहले चौथो गोल गर्दै एनफिल्डमा रेडसको जित पक्का गरे ।
लिगमा कुल २० टोलीहरु करिब नौं महिना लामो प्रतिस्पर्धात्मक भिडन्तमा व्यस्त रहनेछन् । यस सिजन प्रिमियर लिगमा लिडस युनाइटेड, सन्डरल्याण्ड र बर्नली नव आगन्तुक टोलीका रुपमा बढुवा भएका टोलीहरु हुन् ।