काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका युवा फरवार्ड समिर तामाङले नेपाली यु–२३ टोलीमा छनौट नभएको बारेमा विभिन्न अडकलबाजीहरु बाहिर आएपछि उनले आफ्नो स्पष्टीकरण दिएका छन् ।
स्मरण रहोस, नेपाली यु–२३ फुटबल टोलीका मुख्य प्रशिक्षक नबिन न्यौपानेले केही दिन अघि मात्रै यु–२३ फुटबल टोलीको फाइनल स्क्वाड घोषणा गरेका थिए । यद्यपि टोलीमा धेरैले अपेक्षा गरेका उदाउँदा खेलाडी समिर तामाङ नपरेपछि यसबारे टिकाटिप्पणी हुन थालेका थिए ।
यसैबारे समिरले आफ्नो सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका छन् । समिरका अनुसार उनी आफ्नै पारिवारिक कारणले गर्दा टोलीमा नपरेको बताएका छन् । साथै उनी हाल राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा रहेको समेत बताएका छन् ।
समिर तामाङले सामाजिक सञ्जालमर्फत लेखेको स्पष्टोक्तीः
म समिर तामाङ ताजिकिस्तानमा हुने AFC U-23 Asian Cup Qualifiers 2026 को लागि एन्फाले पहिलो चरणको छनौटमा मेरो नाम राख्दै बोलाएको अवस्थामा मेरो पारिवारिक समस्यका कारण प्रशिक्षणमा सहभागी हुन नसकिएको कुरा यहाँहरुमा जानकारी गराउँदछु । हाल पारिवारिक समस्या समाधान भएकोले नेपाली राष्ट्रिय फुटबल टिममा रही प्रशिक्षण गरिरहेको समेत यहाँमा जानकारी गराउँदछु । तसर्थ मेरो उल्लेखित छनोटको विषयलाई लिएर टिकाटिपणी नगर्नु हुन सवै समक्षमा अनुरोध गर्दछु । धन्यावद ।