काठमाडौं (एजेनसी) । स्टार खेलाडीहरु सम्मिलित अल–नासर फुटबल क्लब हङकङमा जारी साउदी सुपर कपको १२औं संस्करणको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
मंगलबार सम्पन्न भएको पहिलो सेमिफाइनलमा दस खेलाडीमा सिमित नल–नासरले अल इत्तिहादलाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
हङकङ स्टेडियममा भएको खेलको दशौं मिनट मै साडियो मानेको गोलबाट नल–नासरले खेलमा अग्रता लिएको थियो । तर, १६औं मिनट मै स्टेभन चाल्र्सले इत्तिहादका लागि बराबरी गोल फर्काएका थिए ।
पहिलो हाफ मै अल–नासर दश खेलाडीमा खुम्चिन पुग्यो । खेलको २५औं मिनटमा साडियो मानेले रातो कार्ड खाँदै मैदान छाड्दा अल-नासर केही दबाबमा परेको थियो ।
यद्यपि जित हात पार्न र दोस्रो गोल गर्दै नल–नासरलाई दोस्रो हाफ नै पर्खन परेको थियो । खेलको ६१औं मिनटमा जोआओ फेलिक्सले आफ्नो डेब्यु गोल तथा टोलीका लागि निर्णायक गोल गर्दै नल–नासरको फाइनल यात्रा पक्का गरे ।
अब नल–नासरले बुधबार हुने दोस्रो सेमिफाइनलतर्फ अल–अहली र अल–कादिसियाह बीचको विजेतासँग फाइनल खेल्नेछ । फाइनल खेल भने २३ अगस्तका दिन हुनेछ ।