News बिमलको निर्णायक गोलसँगै इटहरी क्वाटरफाइनलमा
गोलनेपाल

इनरुवा । साँघुरो जितका साथ इटहरी युथ क्लब जारी इनरुवा नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार सम्पन्न अन्तिम प्रिक्वाटरफाइनलतर्फ इटहरी युथले इनरुवा फुटबल क्लब, सुनसरीलाई १–० ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

इनरुवा–२ स्थित शिक्षा कार्यालय नजिकैको खेलमैदानमा भएको खेलमा इटहरीका लागि बिमल मगरको गोल निर्णायक रह्यो । बिमलले ६२औं मिनटमा पेनाल्टीबाट एक मात्र निर्णायक गोल गरे । इनरुवाका रेशव अधिकारीले इटहरीका एलोन राईलाई बक्स भित्र फल गरेपछि इटहरीले पेनाल्टीको अवसर पाएको थियो ।

जसलाई बिमलले कुनै गल्ती नगरी गोलमा परिणत गरेका थिए । खेलको म्यान अफ द म्याच बिमल मगर नै घोषित भए । उनलाई सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्कीले नगद एक हजार सहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत माघ १३ गते मंगलबारको पहिलो क्वाटरफाइनल खेल बिराटनगर स्र्पोटस एकेडेमी र डियर क्लब तरहरा बीच हुने आयोजकले जनाएको छ । इनरुवा फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ २० गतेका दिन हुनेछ ।

Post Comments