News योङ ब्रदर्श सिरिजंघा सेमिफाइनलमा
गोपाल काफ्ले

पथरी । योङ बदर्श सिरिजंघा जारी पाँचौं रिफ्युजी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको अन्तिम क्वाटरफाइनलमा योङ ब्रदर्शले बेलबारी एफसीलाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।

भुटानी शरणार्थी शिविरको खेलमैदानमा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । खेलको सातौं मिनटमै योङ बदर्श सिरिजंघाका सनम धिमालले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

यद्यपि योङ ब्रदर्शले त्यो अग्रता धेरैबेर टिकाउन सकेन । उता बेलबारीका लागि सुसन लामाले १६औं मिनटमा गोल गर्दै खेललाई १–१ को बराबरी ल्याए । लगतै २९औं मिनटमा कासीम राईले गोल गरेपछि खेलमा बेलबारी २–१ ले अगाडी बढ्न सफल भएको थियो ।

यद्यपि बेलबारीले पनि त्यो अग्रता जोगाउन सकेन । योङ ब्रदर्शका लागि रोहन कार्कीले ५४औं मिनटमा गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीमा ल्याएका थिए । निर्धारीत समयको खेल २–२ को बराबरीमा सकिए पछि खेलको निर्णय ट्राईबेकरबाट लिनु परेको थियो ।

ट्राईबेकरमा बेलबारीका बिक्रम धिमाल, मौसम लिम्बु र बिबेक पौडेलले गोल गरे पनि सुसन लामा र कासीम राईको गोल योङ बदर्श सिरिजंघाका गोलरक्षक विशाल दर्लामीले जोगाएका थिए । योङ बदर्श सिरिजंघाबाट सनम भुजेल, राजकुमार कन्दङवा, दिवश गिरी र सन्तोष न्यौपानेले गोल गर्न सफल भए भने दिपेश घिमालको बल बेलबारीका गोलरक्षक किशोर गिरिले बचाएका थिए ।

खेलको म्यान अफ द म्याच योङ बदर्श सिरिजंघाका २ गोलरक्षक विशाल दर्लामी घोषित हुदै नगद २५ सय रुपैया र मेडल प्राप्त गरे । प्रतियोगिता अन्तरगत माघ १३ गते मंगलबारको खेल खेल खेल दुधे एफ सि र योङ बदर्श सिरिजंघा इलाम बिच हुने छ ।

युथ फ्रेन्डली सेन्टरको आयोजनामा जारी प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ १५ गतेका दिन हुनेछ ।

Post Comments