News यशोदा फुड्स २३औं लिस्नु कपः देवदह ब्वाटरफाइनलमा
सुरज राना मगर

कोटिहवा । केही राष्ट्रियस्तरका खेलाडीहरु लिएर उत्रिएको आयोजक लिस्नु युवा क्लबलाई हराउँदै देवदह ब्वाईज क्लब रुपन्देहीमा जारी यशोदा फुडस २३औं लिस्नु कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१५, कोटिहवा स्थित पशुपति माविको खेलमैदानमा निर्धारित समयको खेल २–२ गोलको बराबरीमा टुंगिएपछि टाईब्रेकरमा देवदह विजयी बनेको हो । खेलको ४०औं मिनटमा कप्तान अरुन चौधरीको गोलबाट देवदहले खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफ लगतै ५०औं मिनटमा मिलन आलेले देवदहको अग्रता दोब्बर पारे ।

यद्यपि खेलमा लिस्नुले रोमाञ्चक पूनःरागमन गर्यो । रोशन पहाडी, कुलदिप कार्की, जय गुरुङ, बिशाल सुनार जस्ता खेलाडीहरुका साथ उत्रिएको लिस्नुका लागि ५६औं मिनटमा जय गुरुङले पहिलो गोल फर्काए । त्यस्तै अन्तिमतिर इन्जुरी समयमा अफ्रिकी खेलाडी बिन्दे इडोराले दोस्रो गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याएका थिए ।

टाईब्रेकरमा भने देवदहले लिस्नुमाथि ३–२ को जित निकाल्यो । खेलमा देवदहका सुरज चौधरी म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ १६ गते सोमबारको खेल भैरहवा अञ्चलपुर क्लब र पाल्पा–११ बीच हुने खेल संयोजक अशोक थापाले जानकारी दिए ।

लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजना तथा यशोदा फुड्स प्रा.लि.को मुख्य प्रायोजनसँगै तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५ को सह–प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद ४,०४,४४४ रुपैयाँ हात पार्नेछ भने उपविजेताले २,०२,२२२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने भदौ २७ गतेका दिन हुनेछ ।

Post Comments