News अल–नासरसँग पनि निरीह बन्यो एपिएफ
गोलनेपाल

काठमाडौं । एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनौट प्रतियोगिता अन्तर्गत नेपालको प्रतिनिधित्व गरीरहेको एपिएफ फुटबल क्लबले आफ्नो समूहको अन्तिम तथा तेस्रो खेलमा पनि हार बेहोरेको छ ।

छनौट प्रतियोगितातर्फ समुह बी मा रहेको एपिएफले आइतबार आफ्नो अन्तिम खेलमा साउदी क्लब अल–नासर एफसीसँग ६–१ को फराकिलो अन्तरले पराजित हुन पुग्यो ।

समूह चरणतर्फ एपिएफले आफ्नो पहिलो खेलमा उज्वेकिस्तानको घरेलु टोली एफसी नसाफसँग ३–० ले पराजित भएको थियो भने दोस्रो खेलमा थाइल्याण्डको कलेज अफ एसियन स्कलर्ससँग ४–० ले पराजित भएको थियो ।

अन्तिम खेलमा पनि पराजय बेहोरेको एपिएफ पुछारमा रहेर बाहिरियो । उता एपिएफलाई हराएको अल–नासरका लागि पनि त्यो सान्त्वना जित बन्यो । समूह चरणबाट एपिएफसँगै ३ अंक जोडेको अल–नासर पनि बाहिरियो ।

त्यस्तै एक खेल कम खेल्दै समान ६–६ अंक जोडेका कलेज अफ एसियन स्कलर्स र नसाफ क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । साथै आइतबार राती नै यी दुई भिड्दै छन् । यी दुईको नतिजाले समूह बी बाट एएफसी महिला च्याम्पियन्स लिगको समूह चरणमा प्रवेश गर्ने टोलीको टुंगो समेत लाग्नेछ ।

Post Comments