काठमाडौं (एजेन्सी) । आयोजक अष्ट्रेलिया घरेलु मैदान मै जारी प्रतिष्ठित एएफसी महिला एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । पर्थमा भएको पहिलो क्वाटरफाइनलमा अष्ट्रेलियाले उत्तर कोरियालाई २–१ ले हराउँदै अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको हो ।
खेलको नवौं मिनटमा एलना केनेडीको गोलबाट अग्रता बनाएको अष्ट्रेलियाका लागि ४७औं मिनटमा स्टार स्ट्राइकर सामन्था केरले दोस्रो गोल गरिन् । जुन खेलको निर्णायक गोल पनि बन्यो । उता उत्तर कोरियाका लागि ६५औं मिनटमा उन–योङ चाईले एक गोल फर्काए तापनि टोलीको हार टार्न त्यो गोल प्रर्याप्त बनेन ।
सेमिफाइनल प्रवेश गरेसँगै अष्ट्रेलियाले अर्को वर्ष ब्राजीलमा हुने फिफा महिला विश्वकपका लागि एसियाली क्षेत्रबाट सोझै छनौट हुन सफल भएको छ । पराजित उत्तर कोरियाको पनि फिफा विश्वकप खेल्ने सम्भावना कायम छ । यद्यपि त्यसका लागि उसले प्ले अफ म्याच खेल्नुपर्नेछ । स्मरण रहोस, जारी एएफसी महिला एसियन कपबाट कुल ६ टोली सोझै विश्वकपका लागि छनौट हुनेछन् भने प्ले अफमा पराजित हुने दुई टोलीले इन्टर–कन्फिडरेशन प्ले अफ खेल्ने छन् ।