News एन्फाले यु–१३ खेलाडी छनौट गर्ने
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्डर–१३ का युवा फुटबल खेलाडीहरु छनौट गर्ने भएको छ । आगामी बर्षदेखि क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्न लागेको एन्फाले त्यसैका लागि यु–१३ खेलाडीहरु छनौट गर्न लागेको हो ।

खेलाडीहरुको छनौट खुला रुपमा गर्ने सूचना प्रकाशित गरेको एन्फाले जिल्ला छनौट कार्यक्रम यहि माघ महिनाको अन्तिमसम्म गर्ने जनाएको छ । साथै त्यसका लागि सम्बन्धित जिल्ला फुटबल संघसँग सम्पर्क राख्न पनि एन्फाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।

उद्देश्य एएफसी क्लब लाइसेन्स

एएफसीले क्लब लाइसेन्स नभएकै कारण नेपाली क्लबहरुलाई आफूले आयोजना गर्ने फुटबल गतिविधीहरुमा समावेश नगर्ने निर्णय गरेपछि नेपाली फुटबललाई नराम्रो धक्का लागेको थियो । नेपालमा लिग समापन भएर पनि क्लब लाइसेन्स नपाउँदा नेपाली क्लबहरुले प्रतिष्ठित एएफसी कप पनि खेल्न सकेका थिएनन् ।

एएफसी क्लब लाइसेन्सका लागि मुख्य मापदण्ड भनेकै क्लबको आफ्नै एकेडेमी र खेलमैदान हुनुपर्ने थियो । जसमा नेपालका अधिकांश शिर्ष क्लबहरु चुकेका थिए । तर हालै नेपालको त्रिभुवन आर्मी फुटबल क्लबले सबै मापदण्ड पूरा गर्दै एएफसी क्लब लाइसेन्स पाउने पहिलो नेपाली क्लब पनि बनेको थियो । योसँगै अन्य नेपाली क्लबहरुमा पनि क्लब लाइसेन्स पाउने आशा पलाएको थियो ।

त्यस्तै एकेडेमी सञ्चालन कै लागि अर्का दुई विभागीय टोली एपिएफ क्लब र पुलिस क्लबले पनि हालै एन्फासँग सम्झौता गरेका थिए । एएफसी क्लब लाइसेन्सका लागि अन्य शिर्ष क्लबहरु पनि प्रयासरत छन् । त्यहि उद्देश्यलाई ध्यानमा राख्दै एन्फाले क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्न लागेको बताइएको छ ।

सहभागी हुन चाहने खेलाडीहरुको योग्यता

एन्फाले जारी गरेको सूचनामा जनाइअनुसार यु–१३ छनौटका लागि युवा खेलाडीहरुको जन्ममिति २०६५ असोज १५ देखि २०६६ असोज १४ को बीचमा हुनुपर्नेछ । साथै खेलाडीहरुले आफ्नो नाम दर्ता गर्दा अनिवार्य रुपमा जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ ।

Post Comments