News हेटोडामा मेयर कप फुटबल हुने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । आउँदो फागुनको पहिलो सातादेखि मकवानपुरको व्यापारीक र व्यस्त शहर हेटौडामा मेयर कप फुटबल प्रतियोगिताको आयोजना हुने भएको छ । प्रतियोगिता आउँदो फागुन ५ गतेबाट शुरु हुनेछ ।

यसअघि हेटौंडा उपमहानगरपालिका कार्यालयको आयोजना एवम् मकवानपुर जिल्ला खेलकुद विकास समितिको समन्वयमा हुँदै आएको प्रतियोगिता यस बर्षदेखि उपमहानगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा हुने भएको छ ।

हेटौंडाको लोकतान्त्रिक खेलकुद मैदान (हुप्रचौर) मा प्रतियोगिता गर्ने गरी तयारी अघि बढाइएको आयोजकले जनाएको छ । उपमहानगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीको अध्यक्षतामा बसेको बैठकले यस बर्ष मेयर कप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगिता सञ्चालनको लागि ९ सदस्यीय समिति समेत गठन गरिएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष शाहीको संयोजकत्वमा गठित समितिको सदस्यमा सुनिल लोप्चन, सुदिप राजबाहक, युनाल मल्ल, प्रितम खड्गी, सुनिल खड्गी, सुवास विडारी र सुपेन्द्र कार्की रहेका छन् ।

प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका प्रत्येक वडाबाट एक–एक टिम सहभागी हुनेछन् । गत बर्ष कोभिड १९ का कारण मेयर कप फुटबल सञ्चालन हुन सकेको थिएन ।

Post Comments