News हारबाट जोगियो पुलिस, एपिएफको जितको ह्याट्रिक
गोलनेपाल

काठमाडौं (खेलदैनिक) । राष्ट्रिय महिला लिगतर्फ मंगलबार सम्पन्न भएका दुई खेलहरुमध्ये पहिलो खेलमा नेपाल पुलिस क्लबले सम्भावित हार टारेको छ भने दावेदार एपिएफ क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा पुलिसले वालिङ नगरपालिकासँग १–१ को बराबरी खेल्दै अंक बाँड्यो । खेलको ५३औं मिनटमा क्यामरुनी खेलाडी मेथो इलुडी रुथको गोलबाट वालिङले खेलमा अग्रता बनाएको थियो ।

यद्यपि त्यसको १३ मिनट लगतै पुलिसका लागि राष्ट्रिय फरवार्ड रेखा पौडेलले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याउनुका साथै टोलीको सम्भावित हार समेत टारेकी थिईन् ।

वालिङकी अमिषा कार्की प्लेयर अफ द म्याच घोषित भईन् । यो बराबरी नतिजापछि ३ खेलबाट ५ अंक जोडेको पुलिस लिगतालिकाको दोस्रो स्थानमा छ । उता ३ खेलबाट दुई अंक जोडेको वालिङ भने पाँचौं स्थानमा छ ।

एपिएफको जितको ह्याट्रिक

लिग उपाधिको दावेदार मानिएको एपिएफ क्लबले मंगलबार लगातार तेस्रो जित हात पार्दै जितको ह्याट्रिक दर्ता गर्यो । एपिएफले अर्को बलियो टोली त्रिभुवन आर्मी फुटबल क्लब विरुद्ध २–० को जित निकाल्दै आफ्नो शिर्षतालाई यथावत समेत राख्यो ।

एपिएफको जितमा खेलको २७औं मिनटमा अन्जली योन्जनले पहिलो गोल गरिन् भने पहिलो हाफ कै इन्जुरी समयमा सरु लिम्बुले दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरिन् । प्लेयर अफ द म्याच भने एपिएफकी अनिता केसी घोषित भईन् ।

यो जितपछि तीन खेलबाट ९ अंक जोडेको एपिएफ शिर्ष स्थानमा छ । त्यस्तै चार अंक जोडेको आर्मी भने तेस्रो स्थानमा छ । लिग अन्तरगत माघ १४ गते बुधबारको एक मात्र खेल चन्द्रपुर नगरपालिका, रौतहट र बिराटनगर महानगरपालिका, मोरङबीच हुनेछ ।

Post Comments