News ताप्लेजुङका लहन सुब्बा पतङ्वा गृहनगरमा सम्मानित
गोलनेपाल

फुङलिङ । ताजकिस्तानमा सम्पन्न एफसी युथ २३ फुटबल प्रतियोगितामा सहभागी भई हालै नेपाल फर्किएका ताप्लेजुङका लहन सुब्बा पतङ्वालाई उनका गृहनगरमा एकपछि अर्को सम्मान कार्यक्रमको माध्यमबाट अभिनन्दन गरिएको छ।

लहन, जो ताप्लेजुङका पहिलो खेलाडीको रूपमा नेपाल युथ २३ फुटबल टिममा स्थान बनाउन सफल भएका हुन्, हालै मात्र ताजकिस्तानमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगिता सकेर नेपाल फर्किएका हुन्।

उनीप्रति सम्मान प्रकट गर्न फुङलिङ नगरपालिका–९ नम्बर वडाका वडा अध्यक्ष लक्षुमन गुरुङको अगुवाइमा आयोजित एक विशेष कार्यक्रममा लहनलाई सम्मान पत्र तथा प्रशंसा–पत्र प्रदान गरिएको थियो।

त्यसैगरी, लहनले अध्ययन गरेको विद्यालय श्री जनता माध्यमिक विद्यालयले पनि एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको छ। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेज प्रताप सुब्बाले लहनको मेहेनतले विद्यालयको मात्र नभई सम्पूर्ण जिल्लाको समेत गौरव बढाएको भन्दै प्रसन्नता व्यक्त गरे।

विद्यालयका प्रधानाध्यापक राम बहादुर गुरुङले लहनजस्ता युवाहरूले अन्य विद्यार्थीहरूका लागि प्रेरणाको स्रोत बन्ने बताउँदै उज्ज्वल भविष्यको शुभकामना दिए।

त्यसैगरी, स्थानीय सांस्कृतिक संस्था लाखे जात्रा समितिले पनि अध्यक्ष सागर मादेन, सचिव टिकेन्द्र नेपाली, र कोषाध्यक्ष दावा शेर्पा लगायतको उपस्थितिमा आयोजित एक कार्यक्रममा लहनलाई सम्मान गरेको हो।

Post Comments