News आयोजक युथ फ्रेन्डली च्याम्पियन (फोटो फिचर)
गोपाल काफ्ले

पथरी । पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधि आयोजक युथ फ्रेन्डली सेन्टरले जितेको छ । बिहीबार भएको फाइनल भिडन्तमा आयोजक युथ फ्रेन्डलीले सिरिजंगा एफसीलाई २–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो ।

भुटार्नी शरणार्थी शिविरको खेलमैदानमा भएको खेलको २२औं मिनटमा बिक्रम लिम्बुको फ्रिकिक गोलबाट आयोजकले खेलमा अग्रता बनाएको थियो । ६६औं मिनटमा निशान लिम्बुले त्यो अग्रता दोब्बर पारे । जुन खेलको निर्णायक नतिजा पनि बन्यो ।

फाइनल खेलको म्यान अफ द म्याच युथ फ्रेन्डली कै बिक्रम लिम्बु घोषित भए । उनले पुरस्कार वापत नगद २५ सय हात पारे । प्रतियोगिताको विजेता बनेको आयोजक युथ फ्रेन्डलीले उपाधिसहित नगद १ लाख १ हजार हात पार्यो भने उपविजेता सिरिजंगाले ५१ हजारमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ आयोजक कै वर्चश्व

त्यसैगरी व्यक्तिगत विधातर्फ पनि आयोजक क्लबकै वर्चश्व रह्यो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयोजकका छिरिङ तामाङ घोषित भए भने उत्कृष्ट डिफेन्डर पनि आयोजक कै पदम भट्टराई चुनिए । उत्कृष्ट मिडफिल्डर भने सिरिजंगाका राजकुमार कन्दङवा घोषित भए ।

त्यस्तै उत्कृष्ट फरवार्ड आयोजकका उमेश राई घोषित भए भने सर्वाधिक गोलकर्ताको पुरस्कार सिरिजंगाका सन्तोष न्यौपानेले हात पारे । उत्कृष्ट प्रशिक्षक पनि आयोजक कै युवराज सम्पङ राई घोषित भए । उदिपयमान खेलाडी ए का निरज परियार घोषित भए भने सर्वोत्कृष्ट खेलाडी आयोज कै नविन गुरुङ घोषित भए ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने सबै खेलाडीहरुले जनही ५–५ हजार नगद प्राप्त गरे । युथ फ्रेन्डली सेन्टरको आयोजनामा भएको प्रतियोगितामा कुल १४ टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments