News बुटवल ११ भेट्रान्सलाई जी ट्वान्टी फाईभ कपको उपाधि
सुरज राना मगर

बुटवल । जी ट्वान्टी फाईभ क्लब, बुटवल, रुपन्देहीको आयोजनामा सम्पन्न प्रथम जी ट्वान्टी फाईभ कप बुटवल उपमहानगर वार्डस्तरीय भेट्रान फुटबल प्रतियोगिताको उपाधि बुटवल ११ भेट्रान्सले जितेको छ ।

शुक्रबार सम्पन्न फाइनलमा बुटवल ११ भेट्रान्सले बुटवल ६ भेट्रान्समाथि शून्यका विरुद्ध १ गोलको जित निकाल्दै उपाधि उचालेको हो । एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न खेलमा बुटवल ११ भेट्रान्सका लागि यम बुचा मगरले गरेको एक मात्र गोल फाइनल खेलको निर्णायक गोल बन्यो ।

विजेता बनेको बुटवल ११ भेट्रान्सले उपाधिसहित नगद ५५,५५५ रुपैयाँ हात पार्यो भने उपविजेता बुटवल ६ भेट्रान्सले २५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक बुटवल ११ भेट्रान्सका माधव श्रेष्ठ बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार पनि बुटवल ११ भेट्रान्स कै यम बुचा मगरले हात पारे । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भने बुटवल ६ भेट्रान्सका हिमाल गौचन घोषित भए ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई समान कार्यक्रमका प्रमुख अतिथी बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, आयोजक जी ट्वान्टी फाईभ क्लब, बुटवलका अध्यक्ष जगदिश न्यौपाने, खेल संयोजक रमेश कुमार जोशी लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments