कुञ्जलापुर । पाहुना टोली कपिलवस्तु–११ रुपन्देहीमा जारी ३७औं झरना रनिङ शिल्ड खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको दोस्रो सेमिफाइनलमा कपिलवस्तुले बलियो प्रतिद्वन्द्वी जनज्योति फुटबल क्लब, डिंगरनगरलाई २–१ ले स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो ।
तिलोत्तमा–६ कुञ्जलापुर स्थित श्री उमा आधारभुत विद्यालयको खेलमैदानमा भएको खेलमा कपिलवस्तुका लागि अरुण चौधरी र प्रेम थापाले गोल गरे । पराजित जनज्योतिका लागि भने अभि लामाले एक मात्र गोल फर्काएका थिए ।
खेलमा कपिलवस्तुका अरुण चौधरी म्यान अफ दि म्याच समेत चुनिए । कपिलवस्तुले अब असोज १३ गते सोमबार हुने फाइनलमा योङ स्टार क्लब, मडाहासँग उपाधिका लागि भिड्नेछ ।
झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जलापुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ४१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८५ हजार प्राप्त गर्नेछ ।