News डिफेन्डिङ च्याम्पियन युनाइटेड उपाधि नजिक
गोलनेपाल

रामपुर । डिफेन्डिङ च्याम्पियन युनाइटेड युथ क्लब, नवलपुर यहाँ जारी वाईवाई तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनलमा युनाइटेडले अभिषेक चर्च फुटबल क्लब, रजहर, नवलपुरलाई टाईब्रेकरमा ४–३ ले हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । निर्धारित समयतर्फ खेलमा अग्रता पनि युनाइटेडले लिएको थियो । १३औं मिनटमा एरोन थापाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए तापनि ५७औं मिनटमा बिक्की चौधरीले अभिषेक चर्चका लागि बराबरी गोल फर्काएका थिए ।

निर्धारित समयको खेल बराबरीमा टुंगिएपछि टाईब्रेकरमा युनाइटेडले नतिजा आफनो पक्षमा पार्न सफल भयो । खेलमा युनाइटेड युथका गोलरक्षक निशान राना म्यान अफ दि म्याच बने । त्यस्तै रेडबुल इनरजेटिक प्लेयर अफ दि म्याच युनाइटेड युथ कै जेबिन लामिछाने घोषित भए ।

प्रतियोगिता अन्तर्गत कार्तिक २ गते आइतबारको दोस्रो सेमिफाइनल खेल आयोजक ज्योतिपुञ्ज युवा क्लब, रामपुर र देवदह ब्वाईज, देवदह, रुपन्देहीबीच हुने खेल संयोजक अनिल शाही ठकुरीले जानकारी दिए ।

ज्योतिपुञ्ज युवा क्लब, रामपुर–७, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले २ लाख सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । फाइनल खेल भने कार्तिक ३ गतेका दिन हुनेछ ।

Post Comments