News तेस्रो मेयर कप शुरु, वार्ड नम्बर ६ को विजयी शुरुवात
गोलनेपाल

दुहबी । सुनसरीको दुहबीमा शनिबारदेखि शुरु तेस्रो मेयर कप वार्ड स्तरीय नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर ६ ले विजयी शुरुवात गरेको छ ।

दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा भएको उद्घाटन खेलमा वार्ड नम्बर ६ ले वार्ड नम्बर १२ लाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।

वार्ड नम्बर ६ को जितमा खेलको २७औं मिनटमा मनिष बिकले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता मनिष बिक नै खेलको म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे ।

प्रतियोगिता अन्तरगत माघ १८ गते आइतबारको खेल वार्ड नम्बर २ र वार्ड नम्बर ३ बीच हुने आयोजकले जनाएको छ ।

नगर प्रमुख गच्छदारद्वारा उद्घाटन

यसअघि प्रतियोगिताको उद्घाटन दुहबी नगरपालिका, सुनसरीका नगरप्रमुख बेद नारायण गच्छदारले गरेका थिए । दुहबी नगरपालिका, सुनसरीको आयोजनामा जारी प्रतियोगितामा दुहबी नगरपालिकाका कुल १२ वार्डका टोलीहरुले सहभागिता जनाएका छन् ।

इलेभन एरोज क्लब, दुहबी सुनसरीको संयोजन रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल माघ २८ गतेका दिन हुनेछ ।

Post Comments