News विजय युथ क्लब हेटौंडा र सेन्ट्रल कलेज भरतपुर सेमिफाइनलमा
बिक्रम बानियाँ क्षेत्री

आयोजक विजय युथ क्लब हेटौंडा र सेन्ट्रल कलेज भरतपुर हेटौंडामा जारी पहिलो संस्करणको हेटौंडा गोल्डकप फुटबल प्रतियोगिता–२०७७ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजकले सर्लाहीलाई २–० र भरतपुरले काठमाडौंको एफसी रियालेलाई ४–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।

हेटौंडाको जीतमा विदेशी खेलाडी साहिद र हिसुव थपलियाले गोल गरेका थिए । साहिदले खेलको छैठौं मिनेटमा र हिसुबले ७२ औं मिनेटमा गोल गरेका थिए । हेटौंडाका विमल राना खेलको म्यान अफ दी म्याच घोषित भए ।



विदेशी खेलाडी जोन ग्लोरीको ह्याट्रिक प्रेरित भरतपुरको जीतमा रञ्जित आले मगरले पनि थप एक गोल गरे । भरतपुरका ग्लोरीले ३५, ३७ र ६९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका थिए ।

उनी प्रतियोगितामा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी बनेका ग्लोरी म्यान अफ दी म्याच समेत घोषित भए ।

भरतपुरका रञ्जितले १८ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

काठमाडौंका लागि रञ्जित तिवारीले ५७ औं मिनेटमा एकमात्र गोल गरेका थिए ।

आउँदो माघ २३ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले उपाधि सहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार हात पार्ने आयोजक क्लबका अध्यक्ष सुदिप राजवाहकले जानकारी दिए ।

Post Comments