
हेटौडा । आयोजक बिजय युथ क्लब र सेन्ट्रल कलेज भरतपुर फुटबल क्लब जारी भिडोल प्रथम हेटौडा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
आइतबार हेटौडा स्थित फरेष्ट्री क्याम्पसको खेलमैदानमा भएको पहिलो खेलमा भरतपुरले एफसी रियाले, काठमाडौंलाई ४–१ ले हरायो । भरतपुरको जितमा जोन ग्लोरीले ह्याट्रिक गरे । ग्लोरीले खेलको ३५, ३७ र ६९औं मिनटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । यद्यपि भरतपुरका लागि गोलको खाता भने १८औं मिनटमा रञ्जित आले मगरले खोलेका थिए ।
उता एफसी रियालेका लागि ५७औं मिनटमा रञ्जित तिवारीले एक मात्र सान्त्वना गोल गरेका थिए । खेलको म्यान अफ द म्याच भरतपुरका ह्याट्रिककर्ता जोन ग्लोरी नै घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार प्राप्त गरे । साथै यो जितसँगै भरतपुरले सेमिफाइनलमा माघ २० गतेका दिन हर्दी युवा समाज, राप्तीसँगको भेट पनि पक्का गरेको छ ।
आयोजकसँग सर्लाही निराश
त्यस्तै प्रतियोगितामा सोझै बाई पाएर क्वाटरफाइनल खेलेको आयोजक बिजय युथ क्लबले सर्लाही जिल्ला फुटबल संघलाई २–० ले हरायो । आयोजकका लागि खेलको छैटौं मिनटमै अफ्रिकी खेलाडी साहिदले पहिलो गोल गरेका थिए भने ७२औं मिनटमा हिसुब थपलियाले दोस्रो गोल गर्दै आयोजकको जित पक्का गरेका थिए ।
खेलको म्यान अफ द म्याच आयोजकका बिमल राना घोषित भए । रानाले पनि पुरस्कार वापत नगद ५ हजार हात पारे । अब सेमिफाइनलमा आयोजकले माघ २१ गतेका दिन सोमबार हुने दुधौली स्पोर्टस क्लब, सिन्धुली र बागमती युवा क्लब, सर्लाहीबीचको अन्तिम क्वाटरफाइनल विजेतासँग भिड्नेछ ।
विजय युथ क्लब, हेटौडाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल भने यहि माघ २३ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष सुदिप राजवाहकले बताए ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा