News एन्फा प्रेसिङडेन्ट कप शुरु, चित्लाङको उत्कृष्ट शुरुवात
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । बुधबारदेखि मकवानपुरको हेटौडामा शुरु एन्फा प्रेसिडेन्ट कपमा चित्लाङ फुटबल क्लब, काठमाडौंले उत्कृष्ट जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

हेटौडा–६, मकवानपुर स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लब, धनकुटालाई ४–१ को अन्तरले हराउँदै विजयी शुरुवात गरेको हो ।

चित्लाङको जितमा चन्दन दास, लहन सुब्बा, विज्ञान खड्का र मदन स्याङ्तनले गोल गरे । उता पराजित देउरालीका लागि भने रामचन्द्र वजीले एक मात्र गोल फर्काएका थिए । खेलमा चित्लाङका जय गुरुङ म्यान अफ दि म्याच चुनिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Post Comments