सुपौली । झरना स्पोर्टस क्लब, कुञ्जलापुर, रुपन्देही यहाँ जारी स्व. लालबहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलतर्फ झरनाले कपिलवस्तु–११, कपिलवस्तुलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो । तिलोत्तमा–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि टाईब्रेकरम ाझरना ३–१ ले विजयी बन्यो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै टाईब्रेकरमा विपक्षी टोलीको दुई पेनाल्टी प्रहार जोगाएका झरना स्पोर्टस क्लबका गोलरक्षक टोप राना मगर म्यान अफ दि म्याच घोषित भए । उनले त्यसवापत नगद ३ हजार र ट्रफी हात पारे ।
प्रतियोगिता अन्तर्गत मंसिर ४ गते बिहीबारको दोस्रो सेमिफाइनल खेल सुनवल फुटबल क्लब, सुनवल (नवलपरासी) र साविक विजेता सिम्रिक युवा क्लब, बुटवल (रुपन्देही) बीच हुने आयोजकले जानकारी दियो ।
समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने मंसिर ६ गतेका दिन हुनेछ ।