काठमाडौं (एजेन्सी) । एएफसी एसियन कपको तेस्रो चरणको छनौट प्रतियोगितातर्फ नेपाल कै समूहमा रहेको भियतनामले पनि एसियन कपमा छनौट हुने आफ्नो सम्भावना कायम राखेको छ ।
समूह चरणको आफ्नो पाँचौं खेलमा भियतनामले बुधबार लाओसलाई २–० ले पराजित गर्यो । यो जितसँगै भियतनामको एसियन कपमा छनौट हुने सम्भावना पनि यथावत रह्यो ।
समूह एफमा पाँच खेलबाट १५ अंक जोडेको मलेसिया शिर्ष स्थानमा रहँदा १२ अंकका साथ भियतनाम दोस्रो स्थानमा छ । समूह चरणको अन्तिम खेलमा आगामी ३१ मार्चका दिन मलेसिया र भियतनाम भिड्ने छन् । यी दुई टोलीबीचको नतिजाले नै समूह एफबाट एसियन कपमा छनौट हुने टोलीको टुंगो लाग्नेछ ।
भलै मलेसियालाई भियतनाम विरुद्धको खेलमा बराबरी गरे पनि प्रर्याप्त हुनेछ भने भियतनामलाई जित्नैपर्ने दबाब हुनेछ । जुन खेल दुवै टोलीका लागि फाइनल सरह समेत हुनेछ ।
उता ३ अंक जोडेको लाओस तेस्रो स्थानमा छ भने अंकविहीन नेपाल पुछारमा छ । साथै लाओस र नेपाल पनि ३१ मार्च मै समूह चरणको आफ्नो अन्तिम खेल खेल्नेछन् । समूह चरणबाटै बाहिरिसकेका यी दुई टोलीबीचको खेल प्रतिष्ठाको भिडन्त पनि हुनेछ ।