चपरहट्टी । न्यु होराइजन स्पोर्टस क्लब, बुटवल रुपन्देहीमा जारी तेस्रो सिद्धार्थ कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको दोस्रो प्रिक्वाटरफाइनलतर्फ न्यु होराइजनले समपुर्ण युवा क्लब, सुपौलीलाई ३–१ ले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भयो ।
न्यु होराइजनको जितमा सन्तोष कार्कीले प्रतियोगिता कै पहिलो ह्याट्रिक गरे । उता पराजित समपुर्णका लागि भने सन्देश केसीले एक मात्र सान्त्वना गोल फर्काएका थिए ।
खेलमा ह्याट्रिक गरेका न्यु होराइजनका सन्तोष कार्की म्यान अफ दि म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत मंसिर ९ गते मंगलबारको तेस्रो प्रिक्वाटरफाइनल खेल फर्साटिकर युवा क्लब, फर्साटिकर र संघार समूह, भलुहीबीच हुने खेल संयोजक युवराज थापाले जानकारी दिए ।
सिद्धार्थ क्लब, तिलोत्तमा–१, चपरहट्टी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर १९ गतेका दिन हुनेछ ।