News फाइनलमा रेडियो सन्देश र टिम टिभी भिड्ने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । रेडियो सन्देश र टिम टिभीले रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिताको फाइनलमा भिड्ने भएका छन् । मंगलबारबाट सुरु भएको प्रतियोगितामा रेडियो सन्देशले रेडियो मकवानपुर र रेडियो आकाशगंगालाई हराउँदै फाइनलमा स्थान बनाएको हो ।

त्यस्तै टिम टिभीले सक्रिय पत्रकार समूह र नवयुग अनलाइन मिडियालाई हराउँदै फाइनल स्थान पक्का गरेको हो । फाइनल खेल बुधबार दिउँसो हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ हजार र उपविजेताले नगद ७ हजार रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

फाइनल खेलअघि महिला पत्रकारहरुको बीचमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता समेत हुनेछ । रेडियो मकवानपुरले बार्षिकोत्सवको अवसरमा गत बर्षबाट मिडिया कप फुटसल प्रतियोगिता सञ्चालन सुरु गरेको हो ।

त्यसअघि बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको उद्घाटन गरेका थिए । फुटसल प्रतियोगिताको उद्घाटन गर्दै उनले पत्रकारहरुले नै खेलकुदका गतिविधिको आयोजना गर्दा ‘क्रेज’ बढ्ने धारणा राखे । प्रदेश खेलकुद परिषद् खेलकुद र खेलाडीको सर्वाङ्गीण विकासका लागि सदैव तयार रहेको बताए ।

यस्तै पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाइँले कठिन अवस्थामा पनि रेडियो मकवानपुरले सामुदायिक रेडियोको भूमिका निर्वाह गरिरहेको बताए । मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले मकवानपुरमा पत्रकारहरुले खेल क्षेत्रको विकासमा सकारात्मक सहयोग गर्दै आएको भन्दै खुसी व्यक्त गरे ।

रेडियो मकवानपुर सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश सल्लाहकार गिरिजा अधिकारी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख राजन दाहाल खुसराज, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक रमेश कोइराला, पत्रकार महासंघ मकवानपुर उपाध्यक्ष कुमार अधिकारी, प्रेस युनियन उपाध्यक्ष मणिराज गौतम, मकवानपुर जिल्ला फुटबल संघ सदस्य विकेशलाल श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।

Post Comments