News आयोजक हाम्रो राजारानी भेट्रानलाई उपाधि
गोलनेपाल

राजारानी । उत्कृष्ट जितका साथ यहाँ सम्पन्न स्व. ज्ञान ब. तथा बुद्धिमाया लिम्बु स्मृति तेस्रो हाम्रो राजारानी भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि आयोजक हाम्रो राजारानी भेट्रान, धनकुटाले जितेको छ ।

बिहीबार सम्पन्न फाइनल खेलमा हाम्रो राजारानी भेट्राने मर्निङ भेट्रान, मोरङलाई ५–२ को अन्तरले हराउँदै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । हाम्रो राजारानी भेट्रानको जितमा मित्र बस्नेतले ह्याट्रिक गर्दा भुपेन लिम्बु र बिशाल राईले समान एक–एक गोल गरे । उता पराजित मर्निङ भेट्रानका लागि भने विकर्ण श्रेष्ठ र राजन मगरले गोल फर्काएका थिए ।

विजेता बनेको हाम्रो राजारानी भेट्रानले उपाधिसहित नगद १ लाख ३० हजार हात पार्दा उपविजेता मर्निङ भेट्रानले ७० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी बिष्णु सुनुवार घोषित भए । त्यस्तै उत्कृष्ट गोलरक्षक मिन बस्नेत बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार कुल ५ गोल गरेका मित्र बस्नेतले हात पारे ।

हाम्रो राजारानी भेट्रान फुटबल क्लब, चौबिसे–६, राजारानी, धनकुटाको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कुल आठ भेट्रान फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments