News तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता सुरू, प्रगतिशील युवा क्लब विजयी
गोलनेपाल

चासोक तङ्नामको अवसरमा आयोजना गरिएको तेस्रो आमन्त्रित लालीमा कप पुरुष फुटबल प्रतियोगिता आइतबारबाट औपचारिक रूपमा सुरू भएको छ।

प्रतियोगिता लालीमा युवा क्लबको आयोजनामा मैवाखोला गाउँपालिका–२ लेकुवा ढुङ्गेसाँघु स्थित ठोट्ने सिंगराज मनरानी आधारभूत विद्यालयको 7A साइड मैदानमा भइरहेको छ।

प्रतियोगिताको उद्घाटन तथा पहिलो क्वार्टरफाइनलमा आयोजक लालीमा क्लब ढुङ्गेसाँघु र प्रगतिशील युवा क्लब मेरिङ्देनबीच प्रतिस्पर्धा भयो। खेलमा पाहुना टोली प्रगतिशीलले आयोजकलाई २–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।

भिया लिम्बुले दुईै गोल गर्दै टिमलाई दोस्रो चरणमा पुर्‍याए। उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै रु २,००० सहित ट्रफीले सम्मानित भए।

सोमबारको दोस्रो क्वार्टरफाइनलमा मैवाखोला क्लब ताप्लेजुङ र श्री लालीगुराँस स्पोर्टिङ युवा क्लबबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ।

यस संस्करणमा ताप्लेजुङका ४ टोली र जिल्लाबाहिरका ४ आमन्त्रित टोली, गरेर कुल ८ टिम प्रतिस्पर्धामा छन्।

ताप्लेजुङबाट:

  • लालीमा फुटबल क्लब

  • मैवाखोला क्लब

  • प्रगतिशील युवा क्लब

  • श्री लालीगुराँस युथ स्पोर्टिङ क्लब

जिल्लाबाहिरबाट:

  • म्याङ्लुङ स्पोर्टिङ तेह्रथुम (डिफेन्डिङ च्याम्पियन)

  • कुम्मायक स्पोर्टिङ पाँचथर

  • हाङ्थुम युथ क्लब सङ्खुवासभा

  • यङ बोइज फुटबल क्लब धरान

आयोजकले आमन्त्रित सबै टोलीका लागि यातायात सुविधा उपलब्ध गराउने जनाएको छ।

पुरस्कारको रूपमा विजेताले रु १ लाख ६५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले रु ९० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हासिल गर्नेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूका लागि व्यक्तिगत विधामा पनि विशेष पुरस्कार व्यवस्था गरिएको छ।

पहिले वैशाखमा आयोजना हुँदै आएको प्रतियोगिता झरी र मैदानको अवस्था बिग्रिने समस्याका कारण यस वर्ष मंसिरमा सारिएको आयोजकले जनाएको छ। त्यसैले एकै वर्षमा दुई संस्करण सञ्चालन भइरहेको हो। वैशाखमा भएको संस्करणमा म्याङ्लुङ स्पोर्टिङ तेह्रथुमले उपाधि जितेको थियो।

Post Comments