News फराकिलो जितका साथ बुद्ध युवा क्लब सेमिफाइनलमा
सुरज राना मगर

नयाँगाउँ । एकतर्फी जितका साथ बुद्ध युवा क्लब, मणिग्राम रुपन्देहीमा जारी प्रथम भैरव कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलमा बुद्धले अञ्चलपुर युवा क्लब, अञ्चलपुरलाई १३–३ को फराकिलो अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।

सिद्धार्थनगर नगरपालिका–१, नयाँगाउँ स्थित पक्लिहवा माविको खेलमैदानमा भएको खेलमा बुद्धका लागि सुरज चौधरी एक्लैले नौ गोल गरे । त्यस्तै रोशन थापाले दुई गोल गर्दा संगम सोमरे र बिशाल सुनारको नाममा एक–एक गोल रह्यो । उता पराजित अञ्चलपुरका लागि भने सुजन जिसीले दुई गोल गर्दा सुशिल रेश्मीले एक गोल गरे ।

खेलमा एक्लैले ट्रिपल ह्याट्रिक गरेका बुद्ध युवा क्लबका सुरज चौधरी म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर २२ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र मोन्स्टर गाईज, सुनवल बीच हुने खेल संयोजक तेजेन्द्र गुरुङ (शक्ति) ले जानकारी दिए ।

भैरव युवा क्लब, सिद्धार्थनगर–१, नयाँगाउँ, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही मंसिर २७ गतेका दिन हुनेछ ।

 

Post Comments