News एन्फाद्वारा महिला लिगको दोस्रो लेगको खेलतालिका सार्वजनिक
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी राष्ट्रिय महिला लिगको दोस्रो लेगको खेलतालिका सार्वजनिक गरेको छ । दोस्रो लेगका खेलहरु यहि माघ २४ देखि शुरु भई आउँदो फागुन ७ गतेसम्म चल्ने छन् ।

दोस्रो लेगतर्फ माघ २४ देखि फागुन ७ गतेसम्म हुने ४१ नम्बरसम्मका खेलहरु सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा हुनेछन् । यद्यपि फागुन ७ गते नै हुने दोस्रो तथा ४२ नम्बरको अन्तिम खेल भने २ बजेदेखि दशरथ रंगशालामा हुने एन्फाले खेलतालिकामा उल्लेख गरेको छ ।

लिगको ४२औं खेलका रुपमा रहने सो खेल दुई दावेदार टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुने एन्फाले प्रकाशित खेलतालिकामा जनाएको छ ।

माघ २४ गते शनिबारको पहिलो खेल भने चौदण्डीगढी नगरपालिका, उदयपुर र त्रिभुवन आर्मी फुटबल क्लबबीच हुनेछ ।

शिर्ष स्थानमा एपिएफ

जारी लिगमा पहिलो लेगको खेलहरु समाप्त हुँदासम्म ६ खेलबाट शतप्रतिशत जितका साथ १८ अंक जोडेको एपिएफ क्लब शिर्ष स्थानमा छ । १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ भने १० अंक जोडेको बिराटनगर महानगरपालिका, मोरङ तेस्रो स्थानमा छ ।

त्यस्तै ८ अंकका साथ नेपाल पुलिस क्लब चौथो स्थानमा छ भने समान ८ अंक जोडे तापनि गोल भिन्नताका आधारमा पछि पर्दै वालिङ नगरपालिका, स्याङ्जा पाँचौं स्थानमा छ । त्यस्तै ३ अंक जोडेको चन्द्रपुर नगरपालिका रौतहट छैटौं स्थानमा रहँदा चौदण्डीगढी नगरपालिका, उदयपुर अंकविहीन रुपमा पुछारमा छ ।

दोस्रो लेगको खेलतालिका हेर्नुहोस् ।

Post Comments