News ईस्ट बंगाल र एपिएफ फाइनलमा भिड्ने पक्का
गोलनेपाल

काठमाडौं । जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलमा भारतको ईस्ट बंगाल फुटबल क्लब र नेपालको एपिएफ फुटबल क्लब भिड्ने पक्का भएको छ ।

आइतबार भएको दोस्रो खेलमा ईस्ट बंगालले बंगलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० को फराकिलो अन्तरले हराएपछि फाइनलमा ईस्ट बंगाल र एपिएफको भेट पक्का भएको हो ।

एपिएफले आइतबार नै भएको दिनको पहिलो खेलमा कराँची सिटी फुटबल क्लबलाई १–० ले हराएको थियो । अब समूह चरणको अन्तिम खेलमा एपिएफले १७ डिसेम्बरका दिन ईस्ट बंगाल कै सामना गर्नेछ ।

आइतबारको नतिजापछि ३ खेलबाट ९ अंक जोडेको ईस्ट बंगाल शिर्ष स्थानमा छ । ७ अंकसहित एपिएफ दोस्रो स्थानमा छ । समान २–२ अंक जोडेका कराँची सिटी र ट्रान्सपोर्ट युनाइटेड तेस्रो र चौथो स्थानमा रहँदा १ अंकसहित नसरिन पुछारमा छ । साथै कराँची सिटी, ट्रान्सपोर्ट युनाइटेड र नसरि स्पोर्टस एकेडेमी समूह चरणबाट पनि बाहिरिएका छन् ।

सिंगल राउण्ड रोबिन लिगको खेलपश्चात शिर्ष दुई टोली फाइनल पुग्ने प्रावधान अनुरुप ईस्ट बंगाल र एपिएफले एक खेल अगावै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । फाइनल खेल २० डिसेम्बरका दिन हुनेछ ।

Post Comments