News गछिया युवा समाजलाई दोस्रो हात्तीमुढा कपको उपाधि
गोलनेपाल

बुढीगंगा । हात्तीमुढा स्र्पोटिङ एकेडेमी, बुढीगंगा गाउँपालिका–५, हात्तीमुढा, मोरङको आयोजनामा सम्पन्न दोस्रो हात्तीमुढा कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि गछिया युवा समाज, सुन्दरहरैचा, मोरङले जितेको छ ।

शनिबार भएको फाइनलमा गछियाले फाईभ स्टार फुटबल क्लब, सुनसरीलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । गछियाको जितमा दोस्रो हाफको १४औं मिनटमा बसन्त ओझाले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।

विजेता बनेको गछियाले उपाधिसहित नगद ३१ हजार हात पार्यो भने उपविजेता फाईभ स्टारले २१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । गछियाका निर्णायक गोलकर्ता बसन्त ओझा फाइनल खेलको प्लेयर अफ दि म्याच चुनिए ।

अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक पनि गछिया कै निशान खाती बन्दा उत्कृष्ट डिफेन्डर पनि गछिया कै मनि मगर चुनिए । उत्कृष्ट मिडफिल्डर फाईभ स्टारका नबिन सरदार बन्दा सर्वाधिक गोलकर्ताको पुरस्कार फाईभ स्टारका बिक्की चौधरीले हात पारे ।

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी भने विजेता टोली गछिया युवा समाजका सुजन चौधरी घोषित भए । विजेता तथा उपविजेता खेलाडीहरुलाई लायन ३६५ सी का गर्भनर बबर जंग थापा लगायतले पुरस्कृत गरेका थिए ।

 

Post Comments