News डिएमसी र लिस्नु क्वाटरफाइनलमा
सुरज राना मगर

बुटवल । लिस्नु युवा क्लब र डिएमसी, तुल्सीपुर जारी चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएका दुई खेलहरु मध्ये पहिलो खेलमा डिएमसीले बिपी स्मृति युवा क्लबलाई ३–१ ले हरायो भने दोस्रो खेलमा लिस्नुले केरवानी स्र्पोटिङ क्लबमाथि २–१ को रोमाञ्चक जित निकाल्यो ।

तिलोत्तमा–१४ बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेलमैदानमा सम्पन्न पहिलो खेलमा डिएमसीका लागि २३औं मिनटमा अजित थापाले गोलको खाता खोलेका थिए । त्यस्तै मध्यान्तरपछिको छैटौं मिनटमा कप्तान सुदन थापाले डिएमसीको अग्रता दोब्बर पारे भने त्यसको तीन मिनट लगतै वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सक्षम शाहीले तेस्रो गोल गरेका थिए ।

उता पराजित विपी स्मृतिका लागि खेलको अन्तिमतिर बिदुर सिंहले एक मात्र सान्त्वना गोल फर्काए । खेलको म्यान अफ द म्याच पराजित विपी स्मृति कै बिदुर सिंह घोषित भए । उनलाई स्थानीय समाजसेवी नेत्र बहादुर थापाले पुरस्कृत गरे ।

लिस्नुको रोमाञ्चक जित

त्यस्तै शुक्रबार नै सम्पन्न दोस्रो खेलमा लिस्नु युवा क्लबले केरवानी स्र्पोटिङ क्लब माथि रोमाञ्चक जित हात पार्यो । खेल शुरु भएको १३औं मिनटमा सन्तोष सारुले केरवानीका लागि फ्रिकिक मार्फत सुन्दर गोल गर्दै टोलीलाई खेलमा अग्रता दिलाएका थिए ।

तर जुझारु प्रदर्शन गरेको लिस्नुका लागि २६औं मिनटमा बिनोद केवटले बराबरीका लागि गोल फर्काएका थिए । त्यस्तै पहिलो हाफ कै ३१औं मिनटमा कप्तान नितेश गुरुङले दोस्रो तथा निर्णायक गोल गर्दै लिस्नुको रोमाञ्चक जित पक्का गरेका थिए ।

खेलको म्यान अफ द म्याच भने पराजित केरवानीका गोलरक्षक निशान खाम्चा घोषित भए । उनलाई चिल्लीया प्रहरी चौकीका इन्चार्ज धर्मराज गिरीले ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत माघ २४ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल रेसुङ्गा एफसी र फर्साटिकर युवा क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल फागुन १ गतेका दिन हुनेछ ।

Post Comments