News फराकिलो जितका साथ वार्ड नम्बर ७ सेमिफाइनलमा
गोलनेपाल

दुहबी । एकतर्फी जित निकाल्दै वार्ड नम्बर ७ दुहबीमा जारी तेस्रो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सम्पन्न क्वाटरफाइनलतर्फ वार्ड नम्बर ७ ले वार्ड नम्बर १ लाई ६–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको दोस्रो मिनट मै राम कुमार पासवानको गोलबाट वार्ड नम्बर ७ ले खेलमा अग्रता बनाएको थियो ।

लगतै नवौं मिनटमा हमिदुल्लाले आत्मघाती गोल गर्न पुग्दा वार्ड नम्बर ७ ले शुरुवाती दश मिनट भित्रै आफ्नो अग्रता दोब्बर बनाएको थियो । वार्ड नम्बर ७ का लागि २१औं मिनटमा अनिल चौधरीले तेस्रो गोल थपे । खेलमा पूर्ण हावी देखिएको वार्ड नम्बर ७ का लागि दिलिप चौधरीले २५ र ४९औं मिनटमा लगातार दुई गोल गर्दा वार्ड नम्बर ७ खेलमा ५–० ले अघि बढिसकेको थियो ।

वार्ड नम्बर ७ का लागि अन्तिम गोल भने ५६औं मिनटमा सेवन रिसिदेवले गरे । उता पराजित वार्ड नम्बर १ का लागि ८०औं मिनटमा मोहम्मद अमिरुलले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलको म्यान अफ द म्याच वार्ड नम्बर ७ का सेवन रिसिदेव घोषित भए । उनलाई दुहबी नगरपालिका वार्ड नम्बर १ का अध्यक्ष अजुल हुसेनले नगद २ हजारका साथ पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत अन्तरगत माघ २४ गते शनिबारको खेल वार्ड नम्बर ४ र ९ बीच हुने आयोजकले जनाएको छ ।

दुहबी नगरपालिकाको आयोजना र इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ २८ गतेका दिन हुनेछ ।

Post Comments