News रेसुङ्गा सञ्जिवनी कपको सेमिफाइनलमा
सुरज राना मगर

बुटवल । झिनो अन्तरको जितका साथ रेसुङ्गा फुटबल क्लब जारी चौथो सञ्जिवनी कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार सम्पन्न पहिलो क्वाटरफाइनलमा रेसुङ्गाले प्रतियोगिताको बलियो प्रत्याशी फर्साटिकर युवा क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो ।

तिलोत्तमा–१४, बाघधुरा देवीनगर स्थित आयोजक क्लबको खेलमैदानमा सम्पन्न खेलको दोस्रो हाफतर्फ १४औं मिनटमा मोहन थापाले बक्स नजिकैबाट गरेको प्रहार रेसुङ्गाको जितमा निर्णायक गोलका रुपमा परिणत भएको थियो ।

खेलमा फर्साटिकरले पनि गोलको राम्रो अवसर पाएको थियो । तर त्यसलाई फर्साटिकरका अग्रपंक्तिका खेलाडीहरुले सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच रेसुङ्गा कै पुरन भण्डारी घोषित भए । उनलाई बाघधुरा टोल बिकास समितिका सचिव भोला प्रसाद बस्यालले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत माघ २५ गते आइतबारको दोस्रो क्वाटरफाइनल खेल आयोजक सञ्जिवनी युवा क्लब र नव एकता युवा क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४ बाघधुरा देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्ने प्रतियोगिताका आर्थिक संयोजक इन्द्र थापाले बताए ।

प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन १ गतेका दिन हुनेछ ।

Post Comments