News बिराटनगरसँग चन्द्रपुरको बदला, वालिङसँग पुलिस निराश
गोलनेपाल

काठमाडौं । जारी राष्ट्रिय महिला लिगको दोस्रो लेगको खेलहरु जारी रहँदा आइतबार चन्द्रपुर नगरपालिका, रौतहट र वालिङ नगरपालिका, स्याङ्जाले आ–आफ्नो खेलमा जित निकालेका छन् ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा चन्द्रपुरले बिराटनगर महानगरपालिका, मोरङलाई १–० ले हरायो । र पहिलो लेगमा बेहोरेको ५–० को हारको बदला लिन समेत सफल भयो ।

चन्द्रपुरको जितमा खेलको ७०औं मिनटमा रजनी थोकरले एक मात्र निर्णायक गोल गरिन् । यो नतिजापछि ७ खेलबाट ६ अंक जोडेको चन्द्रपुर लिगतालिकाको छैटौं स्थानमा छ । उता पराजित बिराटनगर भने १० अंकका साथ चौथो स्थानमा छ ।

वालिङसँग पुलिस स्तब्ध

आइतबार नै भएको अर्को खेलमा वालिङ नगरपालिका, स्याङ्जाले नेपाल पुलिस क्लब विरुद्ध समान १–० को जित निकाल्यो । वालिङको जितमा ५८औं मिनटमा अफ्रिकी खेलाडी मेथो इलुडी रुथले एक मात्र निर्णायक गोल गरिन् ।

पुलिसको यो लगातार दोस्रो हार समेत हो । यसअघि पुलिसले बिराटनगरसँग समान १–० को गोल अन्तरले हार बेहोरेको थियो । उता यो जितसँगै वालिङ ११ अंकका साथ लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित पुलिस भने ८ अंकका साथ पाँचौं स्थानमा छ ।

लिग अन्तरगत माघ २६ गते सोमबारको खेल लिगलिडर नेपाल एपिएफ क्लब र चौदण्डीगढी नगरपालिका, उदयपुरबीच हुने एन्फाले जारी गरेको खेलतालिकामा उल्लेख छ ।

Post Comments