News बिनोदको ह्याट्रिकसँगै फोर ब्रदर्श क्वाटरफाइनलमा
सुरज राना मगर

सैनामैना । सहज जित निकाल्दै फोर ब्रदर्श एफसी, नवलपरासी जारी तेस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ फोर ब्रदर्शले बुद्धिभूमि फुटबल एकेडेमी माथि ४–० को जित निकाल्यो ।

सैनामैना–७ देवापार स्थित सरस्वती माविको खेलमैदानमा भएको खेलमा फोर ब्रदर्शका लागि बिनोद केवटले ह्याट्रिक गरे । केवटले खेलको ४६औं मिनटमा पहिलो गोल गर्दै टोलीका लागि गोलको खाता खोलेका थिए । ५८औं मिनटमा केवटले नै दोस्रो गोल थपे ।

त्यस्तै ७९औं मिनटमा सुर्य थापाले फोर ब्रदर्शको अग्रता तेब्बर पारे भने त्यसको एक मिनट लगतै मोहन थापाले चौथो गोल गरे । त्यस्तै अन्तिमतिर इन्जुर समयको चौथो मिनटमा बिनोद केवटकले नै व्यक्तिगत तेस्रो तथा टोलीका लागि चौथो गोल गर्दै आफ्रनो ह्याट्रिक पूरा गरे भने फोर ब्रदर्शलाई पनि शानदार जित दिलाए ।

खेलको म्यान अफ द म्याच फोर ब्रदर्श कै ह्याट्रिककर्ता बिनोद केवट घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार हात पारे । प्रतियोगिता अन्तरगत माघ २६ गते सोमबारको खेल चापाकोट युनाइटेड र भैरव एफसी, नवलपरासीबीच हुने आयोजक क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।

सैनामैना नगरपालिकाको आयोजना तथा जनप्रिय स्र्पोटिङ क्लबको व्यवस्थानमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष रानाले बताए । प्रतियोगिताको फाइनल खेल आउँदो फागुन ५ गतेका दिन हुनेछ ।

Post Comments