News प्रभावशाली जितका साथ वार्ड नम्बर ७ फाइनलमा
गोलनेपाल

दुहबी । प्रभावशाली जित हात पार्दै वार्ड नम्बर ७ सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न पहिलो सेमिफाइनलमा वार्ड नम्बर ७ ले वार्ड नम्बर ६ माथि ४–१ को प्रभावशाली जित निकाल्दै उपाधि नजिक पुगेको हो । दुहबी स्थित श्री सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको ११औं मिनटमै दिलिप चौधरीले पेनाल्टीबाट गोल गर्दै वार्ड नम्बर ७ का लागि गोलको खाता खोलेका थिए ।

३४औं मिनटमा धन कुमार खाँले वार्ड नम्बर ७ को त्यो अग्रता दोब्बर पारे । उता दोस्रो हाफतर्फ वार्ड नम्बर ६ ले पनि पेनाल्टीको अवसर पायो । जसलाई ५६औं मिनटमा जितेन्द्र चौधरीले गोलमा परिणत गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर सफल भएनन् ।

दोस्रो हाफमा पनि लय समातेको वार्ड नम्बर ७ का लागि ६२औं मिनटमा दिलिप चौधरीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल थपे । त्यस्तै ८०औं मिनटमा धन कुमार खाँले नै व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै वार्ड नम्बर ७ को प्रभावशाली जित पक्का गरे ।

खेलको म्यान अफ द म्याच वार्ड नम्बर ७ का धन कुमार खाँ घोषित भए । उनलाई दुहबी नगरपालिका, सुनसरीका प्रशासकीय अधिकृत बिनोद न्यौपानेले नगद २ हजारका साथ पुरस्कृत गरे । प्रतियोगिता अन्तरगत माघ २६ गते सोमबारको दोस्रो सेमिफाइनल खेल वार्ड नम्बर ४ र १० बीच हुनेछ ।

दुहबी नगरपालिकाको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यहि माघ २८ गतेका दिन हुनेछ ।

 

Post Comments