News आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
गोलनेपाल

पुनर्वास । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं २ अरनिको खेलमैदानमा अरनीको युवा क्लबको आयोजनामा जारी सातौं संस्करणको ऐतिहासिक अरनीको सैनिक कप अन्तर्गत सोमबार पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ। गत संस्करणको विजेता आयोजक लगातार दोस्रोपटक उपाधि नजिक पुगेको हो।

आयोजक अरनीको युवा क्लब र पुनर्वास नगरपालिका- ३ बिच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा ६-१ को फराकिलो जित हात पार्दै आयोजक उपाधि नजिक पुगेको हो। आयोजकलाई जित दिलाउने क्रममा रोहित तामाङ,श्याम बयाडी र सुशील तामाङले समान दुई दुई गोल गरेका हुन्। साथै श्याम बयाडीले दुई गोलका साथै एक असिस्ट प्रदान गर्दा विकास थापाले दुई असिस्ट प्रदान गरेका थिए।

उता पराजित भएको टोली पुनर्वास नगरपालिका - ३ का लागि महेश परियारले एक गोल गर्दा अन्य कुनै खेलाडीले नतिजालाई दोब्बर गर्न सकेनन्। आयोजक अरनीको युवा क्लबका रोहित तामाङ उक्त खेलको म्यान अफ दि म्याच बन्न सफल भएका छन्।

मङ्गलबार दोस्रो सेमिफाइनल खेल सुदूरपश्चिम प्रदेश प्रहरी र भानु युवा क्लब दिनको ठिक १ बजे प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।

प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको छ। उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६१,००० रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु.१,३०,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

Post Comments