News साविक विजेता एपिएफलाई ३३औं त्रिवेणी कपको उपाधि
गोलनेपाल

लमजुङ। विभागीय टोली एपीएफ क्लबले प्रतिष्ठित ३३औं त्रिवेणी कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको उपाधि रक्षा गरेको छ। 

बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले दोस्रोपल्ट उपाधि जितेको हो। योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ। नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ।

गत संस्करणमा भने एपीएफले वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि हात पारेको थियो।

यसपल्ट भने एपीएफलाई त्यतिधेरै संघर्ष गर्न परेन। करिब ७ वर्षपछि एपीएफ फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले निर्धारित समयमै एपीएफलाई उपाधि चुमाए।

एपीएफको जितमा युवराज खड्का र प्रदीप लामाले गोल गरे। खेलको ७७औं मिनेटमा युवराजको गोलमार्फ एपीएफले सुरुआती अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि नै प्रदीपले गोल गर्दै २–० को सहज जित पक्का गरे।

योसँगै एपीएफले १२ लाख रुपैयाँ हात पारेको छ। नाल्माले भने ६ लाख रुपैयाँमा चित्त बुझाएको छ। नाल्मा ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च बोइज युनाइटेडलाई २–० ले हराउँदै फाइनलमा पुगेको थियो।

एपीएफले भने लमजुङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ४–३ ले पाखा लगाएको थियो। खेलको ‘म्याच अफ दी म्याच’ युवराज घोषित भए। उनले १० हजार रुपैयाँ हात पारे।

व्यक्तिगत विधातर्फ एपीएफले एकलौटी सफलता जमायो। सर्वाधिक गोलकर्ता प्रदीप लामा र समीर थोकर घोषित भए। यी दुईले समान ३ गोल गरे। उत्कृष्ट गोलकिपर एञ्ज श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडी सन्तोष खत्री रहे।

Post Comments