केवलानी । लैंगिक समानता, नारी सशंक्तिकरण र आत्मियता बृद्धिको लागि तिलोत्तमा नगरपालिका वार्ड नम्बर ९, केवलानी, रुपन्देहीको आयोजनामा सम्पन्न तिलोत्तमा आमा समूहस्तरीय लुंगी कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि कल्याणकारी आमा समूहले जितेको छ ।
फाइनलमा कल्याणकारी आमा समूहले कुञ्जटोल आमा समूहलाई १–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । कल्याणकारीको जितमा कप्तान सबिना गुरुङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो । विजेता बनेको कल्याणकारीले उपाधिसहित नगद २५ हजार हात पार्दा उपविजेता कुञ्जटोलले २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
त्यस्तै तेस्रो स्थानका लागि भएको खेलमा श्रृजनशील आमा समूहले दक्षिण टोल आमा समूहलाई पेनाल्टी शुटआउटमा हराउँदै तेस्रो स्थान हासिल गर्यो । तेस्रो बनेको श्रृजनशील आमा समूहले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
व्यक्तिगत विधातर्फ विजेता टोली कल्याणकारी आमा समूह कै वर्चश्व रह्यो । दुई विधामा दिइएको पुरस्कार अन्तर्गत उत्कृष्ट गोलरक्षक र सर्वश्रेष्ठ खेलाडी कल्याणकारी कै क्रमशः जुनु सारु र मुना थापा घोषित भए ।
विजेता तथा उपविजेता खेलाडीहरुलाई राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य गीता राना, तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकुृष्ण खाँड, उपप्रमुख जागेश्वर देवी चौधरी, तिलोत्तमा नगरपालिका वार्ड नम्बर ९ का वार्ड अध्यक्ष ध्रुव न्यौपाने, वार्ड सदस्य तथा व्यवस्थापक कमल शर्मा, कार्यक्रम संयोजक लब्सन गुरुङ, रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोक पुन लगायतले पुरस्कृत गरेका थिए ।