रुद्रपुर । संघर्षपुर्ण जित हासिल गर्दै फर्साटिकर युवा क्लब, फर्साटिकर रुपन्देहीमा जारी चौथो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो सेमिफाइनलतर्फ फर्साटिकरले मुर्गिया फुटबल क्लब, मुर्गियालाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि नजिक पुगेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा फर्साटिकर ४–२ ले विजयी बन्यो । खेलमा फर्साटिकरका कप्तान तथा गोलरक्षक शुभांकर जिसी म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत पुष २९ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल समपुर्ण युवा क्लब, सुपौली र रानीबगिया फुटबल क्लब, सैनामैना बीच हुने खेल संयोजक दृष्टि राना मगरले जानकारी दिए ।
रुद्रपुर युवा क्लब, कञ्चन–४, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,३१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ६५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।