माडी । बसन्तपुर युनाइटेड क्लब, माडी–३, चितवनको आयोजनामा वार्षिक रुपमा हुँदै आएको माडी गोल्डकप यु–१८ राष्ट्रिय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
माडी, चितवन स्थित बसन्तपुरको खुला मैदानमा माघ ३ देखि १० गतेसम्म हुने प्रतियोगितामा विभिन्न जिल्लाका कुल १२ टोलीहरुले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । उद्घाटन खेलमा माघ ३ गतेका दिन स्टार स्पोर्टस क्लब र पटिहानी फुटबल क्लब भिड्ने खेलतालिका उल्लेख छ ।
त्यस्तै प्रतियोगितामा २०६४ पुष १७ गतेपछि जन्मिएका युवा खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने छन् । साथै खेलका क्रममा सम्बन्धित क्लब र खेलाडीहरुले आवश्यक कागजात अनिवार्य पेश गर्नुपर्ने पनि आयोजक क्लबका अध्यक्ष नविन बस्यालले बताए ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।