News बिसिएस मेमोरियल र ड्रिम ब्वाईज सेमिफाइनलमा
गोलनेपाल

सिंवाबजार । बिसिएस मेमोरियल युवा क्लब र ड्रिम ब्वाईज फुटबल क्लब यहाँ जारी प्रथम माघेनी मेला गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शुक्रबार भएको पहिलो खेलमा बिसिएस मेमोरियलले नाम्थोक युवा क्लबलाई ५–४ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो । बिसिएस मेमोरियलको जितमा प्रशान्त बिक र रन्जेल लिम्बुले समान दुई–दुई गोल गर्दा थप एक गोल मन्जित लिम्बुले गरे । उता पराजित नाम्थोकका लागि भने आयुष लिम्बुले ह्याट्रिक गर्दा थप एक गोल आशिष लिम्बुले गरे । खेलमा बिसिएस मेमोरियलका रन्जेल लिम्बु म्यान अफ दि म्याच बने ।

त्यस्तै शुक्रबार नै भएको अर्को क्वाटरफाइनलमा ड्रिम ब्वाईजले खाम्लालुङ ग्रामीण युवा समाजलाई ४–२ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो । ड्रिम ब्वाईजका लागि शुक्र लिम्बुले ह्याट्रिकसहित एक्लैले चार गोल गरे । उता पराजित खाम्लालुङका लागि भने बसन्त लिम्बु र बिबेक लिम्बुले गोल गरेका थिए । खेलमा चार गोल गरेका ड्रिम ब्वाईजका शुक्र लिम्बु म्यान अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ ३ गते शनिबारको अन्तिम क्वाटरफाइनल खेल श्री लालीगुराँस स्र्पोटिङ युवा क्लब र कन्काई स्र्पोटिङ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

माघे मेला सञ्चालन समिति, सिंवाबजार, ताप्लेजुङको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३५२०८२ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल भने यही माघ ५ गतेका दिन हुनेछ ।

Post Comments