ह्वाकु (तेह्रथुम) । यहाँ जारी श्रीजङ राय स्मृति फुटबल प्रतियोगिताको छैटौ संस्करणमा आजको खेलमा आयोजक श्रीजङ राय पापो समाज, लामा गुरुङ एकता समाज, जलकन्या एफसी र योङ ब्वाइज झापा विजयी भएका छन् ।
आठराई गाउँपालिका ३ ह्वाकुस्थित मौलाडाँडा खेलमैदानमा आज भएको खेलमा आयोजकले चुहानडाँडालाई १-० गोलले पराजित गरेको हो । आयोजकका लागि सन्तु फोम्बोले खेलको ३९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
अर्को खेलमा लामा गुरुङ एकता समाजले इवाको खेलकुद विकास समितिलाई २-१ गोलअन्तरले पराजित गर्यो । लामा गुरुङतर्फबाट जितका लागि सविन लिम्बू र सागर श्रेष्ठले गोल गर्दा इवाका लागि दिपक नेपालीले सान्त्वना गोल गरेका हुन् ।
यसैगरी, जलकन्या एफसीले लिसिबुङ एफसीलाई १-० गोलअन्तरले पराजित गरेको हो । उसका लागि अभिषेक कन्दङवाले गरेको गोल नै निर्णायक बन्यो । यसअघि पहिलो खेलमा भद्रगोल एफसी अनुपस्थित भएपछि झापाले वाकओभर पाएको थियो ।
चारै टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भोलि पनि चार खेल हुनेछ । दुई खेल प्रिक्वाटर र दुई क्वाटरफाइनलका खेल हुने आयोजकले जनाएको छ ।
इङनाम इवाहाङ युवा समाजले आयोजना गरेको प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख २५ हजार ५५५ र उपविजेताले नगद ७५ हजार ५५५ सहित ट्रफी पाउने छ ।