News फाइनल पुग्न वार्ड नम्बर १० लाई टाईब्रेकरको सहारा
गोलनेपाल

दुहबी । सुनसरीमा जारी तेस्रो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा प्रतिस्पर्धात्मक जितका साथ वार्ड नम्बर १० फाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको दोस्रो सेमिफाइनलमा वार्ड नम्बर १० ले वार्ड नम्बर ४ लाई टाईब्रेकरमा ४–२ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो । त्यसअघि निर्धारित समयको खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

सुनसरीको दुहबी स्थित श्री सरस्वती माविको खेल मैदानमा खेलको १५औं मिनटमा कबिन्द्र चौधरीको गोलबाट वार्ड नम्बर १० ले खेलमा अग्रता लिएको थियो । तर त्यसको एक मिनट लगतै वार्ड नम्बर ४ का लागि श्रवण रिसिदेवले बराबरी गोल फर्काएका थिए ।

त्यस्तै ३८औं मिनटमा कबिन्द्र चौधरीले नै व्यक्तिगत दोस्रो गोल गर्दै वार्ड नम्बर १० लाई खेलमा फेरि अग्रता दिलाए । यद्यपि खेलमा रोमाञ्चक पूनःरागमन गरेको वार्ड नम्बर ४ का लागि ६१औं मिनटमा सुरज राजवंशीले पेनाल्टीबाट गोल गर्दै खेललाई २–२ को रोमाञ्चक बराबरीका ल्याएका थिए ।

टाईब्रेकरमा भने वार्ड नम्बर १० का लागि समित चौधरी, प्रल्हाद चौधरी, कुन्दन चौधरी र कबिन्द्र चौधरीले गोल गरे भने उता वार्ड नम्बर ४ का लागि मुकेश चौधरी र अबल दुलालले मात्र गोल गर्न सके । श्रवण रिसिदेव र सुरज राजवंशी भने गोल गर्नबाट चुकेका थिए ।

खेलको म्यान अफ द म्याच वार्ड नम्बर १० का कबिन्द्र चौधरी घोषित भए । उनलाई दुहबी नगरपालिका, सुनसरीका उपमेयर सुनिता दहालले नगद २००० सहित पुरस्कृत गरे । वार्ड नम्बरले अब उपाधिका लागि फाइनलमा वार्ड नम्बर ७ को सामना गर्नेछ । फाइनल खेल माघ २८ गते बुधबारका दिन हुनेछ ।

दुहबी नगरपालिका, सुनसरीको आयोजना तथा इलेभन एरोज क्लब, दुहबीको संयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।

Post Comments