News शहिद दिवसको अवसरमा ताप्लेजुङमा प्रथम शहिद कप फुटबल प्रतियोगिता, माघ १६ देखि
गोलनेपाल

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा प्रथम शहिद कप अन्तरपालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । योङ कम्युनिष्ट लिग (वाईसिएल) मिक्वाखोला गाउँपालिकाको आयोजनामा शहिद दिवसको अवसर पारेर प्रतियोगिता माघ १६ गतेदेखि २१ गतेसम्म सञ्चालन हुन लागेको हो ।

प्रतियोगितामा जिल्लाभरका ८ वटा टिमको सहभागिता रहनेछ । सबै खेलहरू मिक्वाखोला गाउँपालिका–४ स्थित थलङ खेल मैदानमा सञ्चालन गरिने खेल संयोजक रणध्वज थलङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता अन्तरपालिका स्तरीय भए पनि प्रत्येक टिमले पालिका बाहिरका ३ जना खेलाडी खेलाउन पाउने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको विजेता टिमले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

१० वर्षे जनयुद्धका क्रममा ताप्लेजुङ जिल्लाका पहिलो शहिद नरेन्द्र थलङ (सिडमान) तथा मिक्वाखोला गाउँपालिकाका अन्य शहिदहरूको स्मरण र सम्मानस्वरूप प्रतियोगिता आयोजना गरिएको मिक्वाखोला गाउँपालिका उपाध्यक्ष डण्डु शेर्पाले बताए । खेलकुदको माध्यमबाट पालिकाको पर्यटकीय प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने उद्देश्य रहेको उनको भनाइ छ ।

प्रतियोगिताको प्रत्यक्ष प्रशारण गोल नेपाल डट कम बाट हुनेछ ।

Post Comments