News एन्फा तनहुँ २६औँ आदर्श कपको सेमिफाइनल प्रवेश
गोलनेपाल

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर - २९ भण्डारढिक स्थित लेखनाथ रङ्गशालामा फर्स्ट च्वाईस फुड्स लिमिटेडको मुख्य प्रायोजनमा आदर्श युथ क्लबले आयोजना गरेको २६ औँ आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत आइतबार गन्नी फुटबल क्लब पर्वत र एन्फा तनहुँ बीचको तेस्रो क्वार्टर फाइनल खेल सम्पन्न भएको छ।

उक्त खेलमा गन्नी फुटबल क्लब पर्वतलाई जिल्ला फुटबल संघ तनहुँले एक गोलका विरुद्ध दुई गोल गर्दै जित हात पारेको हो। तनहुँका लागि खेलको २७ औं मिनेटमा सञ्जय श्रेष्ठले गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक शुन्यले पछि परेको गन्नी फुटबल क्लब दोस्रो हाफको १० मिनेटमा सजिन थापा मगरको उत्कृष्ट गोलमा खेलमा फर्किन सफल भएको थियो।

खेलको ७१ औ मिनेटमा सञ्जय श्रेष्ठको ससक्त प्रहार पोलमा ठोकिएर आउदा गन्नी फुटबल क्लबका डिफेन्डर सिशस थापालाई लाग्दै गोलमा परिणत भएको थियो। साथै उक्त गोल नै यस खेलको निर्णायक गोल बनेको छ। निर्धारित समय भर प्रभावशाली खेल प्रदर्शन गरेका एन्फा तनहुँका गोल रक्षक रतन हिताङ उक्त खेलको म्यान अफ दी म्याच बन्दै नगद रु.५ हजार सहित ट्रफी प्राप्त गरेका छन्।

सोमबार प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल खेल म्याग्दी जिल्ला खेलकुद विकास समिति र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय दिनको ठिक १२:३० बजे प्रतिस्पर्धा गर्नेछन्।

मोफसलका चिरपरिचित आठ टोलीहरुको सहभागी रहेको उक्त प्रतियोगिताको बिजेताले नगद रु ४,९९,९,९९ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले नगद रु ३,३३,३,३३ रुपैया प्राप्त गर्नेछ।

व्यक्तिगत विधातर्फको उत्कृष्ट खेलाडीले जनहि नगद रु.१५००० प्राप्त गर्नेछन् भने प्रतियोगिताको सबैभन्दा उत्कृष्ट खेलाडीले नगद रु. २५ हजार प्राप्त गर्नेछ। प्रतियोगिताको समापन भने माघ सोह्र गते हुने आयोजक कमिटीले जानकारी दिएको छ।

Post Comments