News धरान स्पोर्टसलाई दोस्रो कुमरखत च्यालेञ्ज कपको उपाधि
गोलनेपाल

रामधुनी । जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा सम्पन्न दोस्रो कुमरखत च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि धरान स्पोर्टस क्लब, धरानले जितेको छ ।

फाइनलमा धरानले हरैचा स्पोर्टस क्लब, हरैचालाई पेनाल्टी शुटआउटमा हराउँदै उपाधि उचाल्न सफल भएको हो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धातमक दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए ।

निर्धारित समयतर्फ धरान स्पोर्टसका लागि दुवै गोल तिलक लावतीले गर्दा हरैचा स्पोर्टसका लागि दुवै गोल पेरिस केसीले गरे । यद्यपि पेनाल्टी शुटआउटमा भने धरानसँग हरैचा ४–२ ले निराश बन्यो ।

विजेता बनेको धरान स्पोर्टसले उपाधिसहित नगद ५१ हजार हात पार्यो भने उपविजेता हरैचा स्पोर्टसले ३१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । हरैचा स्पोर्टसका अरुण शाह फाइनल खेलको म्यान अफ दि म्याच बने ।

त्यस्तै अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक धरान स्पोर्टसका बिपुल मगर बन्दा उत्कृष्ट डिफेन्डर हरैचाका राम खनाल चुनिए । उत्कृष्ट डिफेन्डर धरान स्पोर्टसका मन्दिप राई बन्दा उत्कृष्ट फरवार्ड हरैचाका पेरिस केसी बने । उदीयमान खेलाडी भने आयोजक जुडीका प्रवेश गिरी चुनिए ।

त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार कुल चार गोल गरेका धरान स्पोर्टसका तिलक लावतीले हात पार्दा प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी मिजाश लिम्बु घोषित भए ।

विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथी रामधुनी नगरपालिका, सुनसरी वार्ड नम्बर ७ का वार्ड अध्यक्ष केशव गौतम लगायतले पुरस्कृत गरेका थिए ।

Post Comments