News साघुँरो जितसँगै म्याग्दी २६औ आदर्श कपको अन्तिम चारमा
गोलनेपाल

पोखरा । कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर - २९ भण्डारढिक स्थित लेखनाथ रङ्गशालामा फर्स्ट च्वाईस फुड्स लिमिटेडको मुख्य प्रायोजनमा आदर्श युथ क्लबले आयोजना गरेको २६ औँ आदर्श कप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय र म्याग्दी जिल्ला खेलकुद विकास समिति प्रतिस्पर्धा गरेका छन्।

उक्त खेलमा एक शुन्यको साँघुरो जित हातपार्दै म्याग्दी जिल्ला खेलकुद विकास समिति सेमिफाइनल प्रवेश गर्ने अन्तिम टोली बनेको छ। उक्त जितसँगै म्याग्दीले अब दोस्रो सेमीफाइनल खेल अन्तर्गत होराइजन क्लब वालिङ स्याङ्जासँगको भेट पक्का गरेको छ।

सोमबार सम्पन्न प्रतियोगिताको अन्तिम क्वार्टर फाइनल दुवै टोलीबीच रोमान्चक खेल भएको थियो। दुवै टोलीबाट अधिकांश अवसरहरू खेर जाँदा खेलको ८२ औ मिनेटमा म्याग्दीका लागि सनम बिकले बक्सभन्दा बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत भएको थियो। सनमको उक्त गोल नै त्यस खेलको निर्णायक गोलबन्दा उनी उक्त खेलको म्यान अफ दि म्याच बनेका छन्। साथमा उनले नगद रु ५,००० सहित ट्रफी पनि प्राप्त गरेका हुन्।

मङ्गलबार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल नेपाल प्रहरी गण्डकी र जिल्ला फुटबल सङ्घ (एन्फा) तनहुँ दिनको ठिक १ बजे लेखनाथ रङ्गशालामा प्रतिस्पर्धा गर्नेछन्।

Post Comments