News रुपन्देहीमा सैनामैना वार्ड लिग शुरु, वार्ड नम्बर ३ को शानदार शुरुवात
सुरज राना मगर

मुर्गिया । मुर्गिया फुटबल क्लब, सैनामैना–४, रुपन्देहीको आयोजना तथा सैनामैना नगर खेलकुद विकास समिति, रुपन्देहीको सह–आयोजनामा बिहीबारदेखि प्रथम सैनामैना वार्ड लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।

सैनामैना–४, मुर्गिया स्थित सैनामैना बहुउद्देश्यीय रंगशालामा भएको उद्घाटन खेलमा वार्ड नम्बर ३ ले शानदार शुरुवात गर्ने क्रममा वार्ड नम्बर ६ लाई ४–० को फराकिलो अन्तरले हरायो । वार्ड नम्बर ३ का लागि रेशम पुनले दुई गोल गर्दा अरुण पुन र बिकल पुनले समान एक–एक गोल गरे । खेलको म्यान अफ दि म्याच पनि वार्ड नम्बर ३ कै बिकल पुन चुनिए ।

त्यसअघि प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोष पाण्डेले गरेका थिए । सो अवसरमा सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र शर्मा, आयोजक क्लबका अध्यक्ष प्रबिन भारी, सैनामैना नगर खेलकुद विकास समितिका अध्यक्ष खिम श्रेष्ठ, सैनामैना वार्ड नम्बर ४ का अध्यक्ष राम प्रसाद अधिकारी, खेल संयोजक कशिष श्रेष्ठ, प्रचार प्रसार संयोजक राकेश गुरुङ लगायतको पनि उपस्थिति रहेको थियो ।

सैनामैना नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सैनामैना, रुपन्देही संरक्षक रहेको प्रतियोगितामा सैनामैना नगर भित्रका कुल ११ वार्डका फुटबल टोलीहरु सहभागि छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । लिगकम नकआउका आधारमा चल्ने प्रतियोगिताको फाइनल र समापन माघ २८ गतेका दिन हुनेछ ।

 

Post Comments